म फूल फुल्ने बित्तिकै खुसी हुने मान्छेको के पीर?
बसन्त फर्किन्छ हरेक साल!
म जान्दछु,
हरेक बसन्तमा शिशीरको चीसो मिसिन्छ,
पछिल्लो हिउँदले केही न केही खोसेकै हुन्छ,
अलिकति चिथोरेकै हुन्छ
तर अँध्यारा, चीसा दिनहरूमा पनि
यति त ढुक्क छ-
बसन्त आउने नै छ,
फूल फुल्नेछन् फेरि
मैले नहाँसी सुख पाउँदिँन।
त्यसैले म आफ्ना पीरको खासै पीर गर्दिंन
फूल झर्दा रुँदिंन,
ओइलाएका फूलहरूलाई पनि माया गर्छु,
सुकेका फूल मेरा डायरीमा लुकाउँछु,
सजाउँछु —
फूलदानीमा,
स्मृतिका किनारहरूमा,
मेरा प्यारा फूलहरू
मरेर नि बाँच्छन्
सुकेर पनि मगमगाउँछन्,
म भित्र,
शब्दहरूमा,
खालि ठाउँहरूमा
समयको धमिलो छायाँहरूमा।
Share this post